लकडाउनले पुर्‍यायो दिलबहादुरलाई फेवातालको डिलमा

समाज

फेवातालमा प्लास्टिकका बोतल तैरिरहेका देखिन्छन्। यी बोतल आगन्तुकले पानी खाएर तालमा फालेका होइनन्। तिनलाई डोरीले बाँधिएको छ।

रित्ता डुङ्गाहरू पनि फेवातालमा अचेल एक्कै ठाउँ तैरिरहन्छन्। ती बोतल र ढुङ्गालाई डोरीले जोडेको छ। छालले डुङ्गालाई नलैजाओस् वा वर्षाको पानीले डुबेको डुङ्गालाई पछि चिन्न सकियोस् भनेर यसरी बाँधिएको हो।

डुङ्गालाई त डोरीमा बाँधिएका बोतलले छालबाट जोगाउलान्। फेवातालमै डुङ्गा चलाएर जीविका धान्ने सिन्धुलीको फिक्कल गाउँपालिका-५ सोल्पाका ५१ वर्षीय दिलबहादुर पुलामी मगरको जिन्दगीलाई थामेर राख्ने डोरी भने छैन।

कोरोना भाइरसको महामारी रोक्न चैत ११ देखि लकडाउन भएपछि फेवातालमा चल्ने डुङ्गालाई सोझै असर पर्‍यो। उसो त वर्षामा ढुङ्गा चढ्ने खासै मान्छे हुँदैनन्। यसपालि त पर्यटकीय सिजनलाई नै कोरोनाको महामारीले खाइदियो।

लकडाउन भएको पनि छ महिना पुग्न लाग्यो। यसबीचमा हावाको झोंकाले ल्याएका पानीको लहरले डुङ्गा यताउता गरिरहन्छन्। दिलबहादुरले पनि महामारीको बीचमा जीविका चलाउन कहिले के गर्छन् कहिले के।

अहिले पोखरामा लकडाउन खुकुलो भएको छ। पर्यटकीय गतिविधि भने ठप्प छ। मानिसलाई घुमफिर गर्न अझै बन्देज छ। होटल रेष्टुराँहरू पनि बन्द नै छन्। फेवातालको किनारमा बिहान र बेलुका पैदल हिँड्ने मान्छे देखिदैनन्, शून्यता छाएको लामो समय बितेको छ ।

दिलबहादुरको पनि आर्थिक स्थिति यिनै डुङ्गाजस्तै भएको छ, रित्तो। डुङ्गा चलाउन नपाए पनि फेवातालमा भने गइरहन्छन्, डुङ्गामा भरिएका पानी फाल्छन्, र माछा मारेर फर्कन्छन्।

‘काम छैन के नै गर्नु,’ उनी भन्छन्, ‘ताल हेरेर नै दिन कटाउनु परेको छ।’ दिलबहादुरलाई उनका साथीहरूले दुई वर्षअघि मात्र पोखरा ल्याएका थिए। यसअघि फिक्कलमै तरकारी व्यवसाय गर्थे।

फेवातालमा डुङ्गा चलाउन थालेपछि उनको आर्थिक अवस्था उक्सेको थियो। उनकी श्रीमती पदममायाले पनि फेवातालको किनारमा सानातिना सामान बेच्थिन्। दुवैको आयले दुई छोरा र एक छोरी पढाउन र जीविका चलाउन पुगेकै थियो।

यो छ महिनाको लकडाउन बिताउन जीवनकै सकसपूर्ण लागेको छ। ‘यस्तो पनि दिन आउला भनेर सोचेको थिइनँ,’ उनी भन्छन्, ‘काम गरेर खान पनि नपाउने कस्तो दिन देख्नुपर्‍यो।’

उनको परिवार पोखरामै कोठा भाडामा बस्छन्। डुङ्गा चलाउन नपाएपछि उनले कोठा भाडा पनि तिरेका छैनन्। आम्दानीको बाटो बन्द भएपछि तिर्ने अवस्था पनि रहेन। यी छ महिनामा पाँच जनाको परिवारको हातमुख जोर्न पनि उनले ऋण खोज्नु पर्‍यो। पहिलैदेखि लागेको ऋण सम्झ्यो भने उनलाई सकस हुन्छ। लकडाउन खुलेपछि उनी कामको खोजीमा निस्केका थिए। जाँदा जे काम पाइन्छ त्यही गरे। यसबीचमा केही दिन निर्माणको काम पाएको उनले बताए।

कहिले भने उनले फेवातालमा आएर माछा मारेर संकटको गुजारा चलाइरहे। डुङ्गा चलाएरै उनले छोराछोरीलाई राम्रो स्कुलमा पढाएका थिए। जेठा छोरा पोखरामा ‘प्लस टु’ पढ्छन् भने कान्छा छोरा काठमाडौंमा एचए पढ्दैछन्।

दिलबहादुरकी ११ वर्षिया छोरी खुसी पोखराकै एक बोर्डिङमा कक्षा ५ मा पढ्थिन्। लकडाउनपछि बुवासँगै फेवातालमा भेटिन्छिन्। दिलबहादुरसँगै माछा मार्ने, डुङ्गाको पानी फाल्न उनले सघाएकी छिन्।

स्कुलले अनलाइन कक्षा पढाउने उनको अभिभावकलाई भनेका थिए। तर, उनले एक दिन पनि अनलाइन कक्षा पढ्न पाएकी छैनन्। ‘अनलाइन पढ्न मोबाइल नै छैन,’ खुसीले सेतोपाटीसँग भनिन्, ‘पाँच कक्षाको किताब पनि किनेको छैन।’ खानकै लागि धौ-धौ भएकाले छोरीका लागि किताब किनिदिने पैसा नभएको दिलबहादुरले बताए।

‘सरकारी स्कुलमा पढाएको भए किताब आउँथ्यो होला,’ उनले भने, ‘मैले जति दु:ख पाए पनि छोराछोरीले नपाओस् भनेर बोर्डिङमा पढाएँ, अहिले किताब किन्दिन पनि सकिनँ।’

फेवातालको बाराहीघाटबाट तालको बीचमा रहेको बाराही मन्दिर गइन्छ। यस घाटबाट मात्र ३ सय ५० बढी डुङ्गा चल्छन्। बाराहीघाटसहित फेवातालमा ८ वटा घाट छन्, जहाँबाट ७ सय ३० वटा डुङ्गा व्यावसायिक रूपमा चल्छन्।

तालमा डुङ्गा चलाउने चार सय बढी डुङ्गा चालक छन्। कोही पोखरा बाहिरका त कोही पोखराकै रैथाने छन्। अहिले सबैको हालत दिलबहादुरको जस्तै भएको फेवा डुङ्गा व्यवसायी संगठनका सचिव रूद्र भुजेलले बताए।

‘धेरैजसो डुङ्गा चालक निर्माणको काममा लागेका छन्,’ उनले भने, ‘कोही माछा मार्छन्, जे काम पाउँछन्, त्यही गर्छन्। डुङ्गा चालकलाई गाह्रो छ।’ फेवातालमा एउटा डुङ्गा रिर्जभ गर्दा कम्तीमा छ सय रूपैयाँ तिर्नुपर्छ। जति धेरै समयका लागि रिजर्भ गर्‍यो, त्यही अनुसार शुल्क बढी तिर्नुपर्छ। बाराहीघाटबाट एक पटक बाराही मन्दिर लैजादा चालकले एक सय रूपैयाँ पाउँथे। बाँकी रकम भने डुङ्गा साहुले लैजाने गरेको दिलबहादुरले बताए।

घाम छल्ने छत भएको ‘छत्री डुङ्गा’ चलाउने दिलबहादुरले मन्दिर जाँदा नेपालीसँग ६० र विदेशीसँग सय रूपैयाँ रेट लाग्ने बताए। यसरी दिनमा तीन सयदेखि दुई हजार पाँच सय रूपैयाँसम्म कमाएको अनुभव उनको छ।

यही आम्दानीले परिवार पाल्ने र छोराछोरी पढाउँथे। फिक्कलमा तरकारी व्यवसाय गर्दा लागेको २० लाख ऋण पनि यहीँ आएपछि जोगाएर चार लाख घटाएको उनले बताए। लकडाउन भएपछि पोखरामै एक लाख ऋण लागिसकेको छ।

श्रीमती मगर फेवा किनारमै पानी र फास्ट फुड बेचेर दिनको पाँच सयदेखि दुई हजारसम्म कमाउने गर्थिन्। लकडाउन भएपछि त यो काम पनि बन्द भयो, उनको परिवारकै आम्दानी सुक्यो।

‘छोराछोरी पढाउँदा पढाउँदै पैसा बचत भएन,’ पदममायाले भनिन्, ‘अहिले त काम गर्छु भने पनि पाइँदैन, कस्तो दिन आयो।’ लकडाउन भएपछि उनीहरू फिक्कल घर गएका छैनन्। घर टाढा र धेरै भाडा लाग्ने भएर नगएको पदममायाले बताइन्।

लकडाउन हटेपछि पनि डुङ्गा चढ्ने मान्छे तत्काल नआउने दिलबहादुरले थाहा पाएका छन्। ‘कोरोना हटेपछि पनि मान्छे त आउँदैनन्, यो राम्रो थाहा छ,’ उनले भने, ‘सरकारले पनि रोजगार दिन्छु भन्छ, दिन सक्दैन ।’

दिलबहादुरले घर बनाउने मिस्त्री काम जानेका छन्। तरकारी व्यापार गरेको अनुभव पनि छ। काम गर्न खोज्दा ठेकदारले काम नै नदिएको उनले गुनासो गरे। ‘बाहिरबाट आएको भनेर डराउँछन्, अहिले कसैले काम दिँदैन,’ उनले भने, ‘व्यापार गर्न त पुँजी चाहियो नि।’

सबै मान्छे रमाइलो गर्न पोखरा आउँछन् दिलबहादुरलाई भने यहाँ भन्दा आफ्नै गाउँ रमाइलो लाग्छ। पोखरा आउनु बाध्यता भएको उनको भनाइ छ। ‘पैसा नहुनेलाई जहाँ काम पाइन्छ, त्यही जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘पैसा हुनेलाई नरमाइलो कहाँ छ र?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *